Sunday, October 18, 2015
पोलेको मासुले क्यान्सरको खतरा.........
नेपालीले दसैँमा बढी मासु खाने गर्छन्। मासुका विभिन्न परिकार बनाउने क्रममा धेरै पोलेको र भुटेको मासु रुचाउने गरिन्छ। त्यस्ता मासुबाट क्यान्सरको खतरा हुने चिकित्सकले बताएका छन्।
मासु पोल्दा र सुख्खा हुने गरी भुट्दा प्रयोग हुने दाउरा र ग्यासबाट हाइड्रोकार्बन उत्पन्न हुन्छ। त्यसले पेट र छालामा क्यान्सर हुन सक्ने बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका मेडिकल अङ्कोलोजी विभागका विशेषज्ञ चिकित्सक डा गुरुशरण साहले बताए।
उनका अनुसार मासु पोल्दा मासुमा गुलियो पदार्थ र प्रोटिन हुने हुँदा बढी पाक्दा त्यसमा एक्रिल्यामिडिएस उत्पन्न हुन्छ, जुन क्यान्सरका लागि सहयोगी बन्छ। बढी पोलेको मासु प्रयोग गर्ने जापानीमा यो समस्या धेरै रहेको साहले बताए। सो विषयमा जापानमा थप अनुसन्धान पनि भइरहेको उनको भनाइ छ।
युवावस्थाका यस्ता बिरामी बढी आउने गरेको अस्पतालका मेडिकल अङ्कोलोजी विभाग प्रमुख डा भोलाप्रसाद रौनियारको भनाइ छ। भुटेको र पोलेको मासुबाट ठूलो आन्द्राको क्यान्सर अरु बढी हुने गरेको बताइएको छ। पटक पटक पातलो दिसा, पेट काट्ने र कटक्क दुख्ने गरेमा परीक्षण गर्न पनि उनले सुझाव दिए। यस्ता खाले क्यान्सर भएका बिरामीका परिवारका अन्य सदस्यलाई पनि परीक्षणको लागि उनको सुझाव छ।
उनका अनुसार मासु पोल्दा छोपेर पोलेमा अरु बढी हानिकारक हुने गर्छ। दसैँका बेलामा मासु प्रयोग गर्दा राँगा, खसी, बोकाको भन्दा कुखुरा र माछाको मासु प्रयोग गर्न चिकित्सकले सुझाएका छन्। उनीहरुको भनाइमा ती मासु उमालेर खाएमा अरु बढी स्वास्थ्यवर्धक हुने गर्छ।
यसैबीच भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सन् २०१४ मा एक लाख १२ हजार ४७६ जनाले क्यान्सर रोगको परीक्षण गराएका छन्। तीमध्ये २६ हजार ४३ जना नयाँ रहेको अस्पतालले जनाएको छ। नयाँ बिरामीमध्ये महिलाको सङ्ख्या १६ हजार ६३९ छ।
पेटको क्यान्सरका बिरामी एक सय ६१ जनाले उपचार गराएकामा महिला ६२ जना मात्रै छन् भने पुरुषको सङ्ख्या ९९ छ। यो तथ्याङ्कले खानपिनका कारण पेटको क्यान्सर बढी हुने गरेको देखाउँछ। रासस
source setoipati
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment