नेपालमा एक महिनादेखिको नाकाबन्दीका कारण
पेट्रोलको अभाव भएसँगै दुईपांग्रे सवारीको व्यवसाय खस्केको छ। पेट्रोलको
अभावका कारण यस्तो अवस्थामा मोटरसाइकल तथा स्कुटरको ब्यापार प्रायः ठप्प छ।
यसैबीच अन्य अवस्थामा सुनसान रहने विद्युतीय सवारी साधनको माग बढेसँगै सोरूमहरुमा उपभोक्ताहरुको चाप बढेको छ।
नेपालमा पेट्रोलियम पदार्थको अभावसँगै विकल्पको रूपमा विद्युतीय सवारी साधन तर्फ मानिसहरुको ध्यानाकर्षण भएको छ।
नेपालमा पनि केही वर्षयता विद्युतीय स्कुटरको पनि विक्रीवितरण हुँदै आएको
छ। पहिला धेरैले वास्तै नगरेका विद्युतीय स्कुटरहरुको अहिले माग र चर्चा
दुवै फस्टाउँदो छ
सन् २०१४ फेब्रुअरीदेखि फेयर अटो प्रा.लि.ले जापानमा बनेको ‘टेर्रा’
विद्युतीय स्कुटरको विक्री वितरण गर्दै आइरहेको छ। सुरुसुरुमा मानिसहरुलाई
विद्युतीय सवारीका बारेमा बुझाउन अलि कठीन भएको भएपनि अहिले ग्राहक आफै
खोजी खोजी आउने गरेको हात्तिसार स्थित कम्पनीका जेनरल म्यानेजर दीपक कुमार
पुराकोटीले सेतोपाटीलाई बताए।
पेट्रोलियम पदार्थको अभाव भएसँगै करिब एक सयवटा स्कुटर बिक्री भइसकेको र
दुईसयवटा भन्दा बढी बुकिङ भएको पनि उनले बताए। ‘पहिले ग्राहकहरुलाई यसका
बारेमा बुझाउनु पर्थ्यो, विक्री पनि कमै मात्रामा हुन्थ्यो, तर अहिले भने
आफैँ खोजेर आउनेलाई पनि दिन सकिएको छैन,’ उनले भने।
फेयर अटो प्रालिले हाल एक लाख ५ हजारदेखि एक लाख ८० हजार रुपैयाँसम्मका सीड
६० अल्फा, इसिन, यामातो, हायाते र अरासी जस्ता मोडलका ‘टेर्रा’ का
विद्युतीय स्कुटरहरू बजारमा ल्याएको छ। मोडलअुनसार यसको मूल्य र विशेषता
फरक फरक हुने पुराकोटीले जानकारी दिए।
सामान्यरूपमा दुईदेखि तीन घण्टामात्र
चार्ज गरे पुग्ने ‘टेर्रा’ विद्युतीय स्कुटर मोडलकै आधारमा औसतमा ३५
किमीदेखि ७५ किमीसम्म चल्ने पुराकोटी बताउँछन्।
सीड ६० अल्फा, इसिन जस्ता कम मूल्यका स्कुटरहरुको औसत माइलेज ३५ किमीदेखि
४५ किमीसम्म छ भने हायाते र अरासी स्कुटरहरुले ७५ किमीसम्म माइलेज दिने
उनले बताए।
करिब १८ अघिदेखि निर्माण हुँदै आएको टेर्रा स्कूटर जापान लगायत एशिया र युरोपका धेरै देशमा बिक्री हुने गरेको पनि उनले बताए।
टेर्रा विद्युतीय स्कुटर किन्दा सुरुमा कम्पनीले नै फूल चार्ज गरेर दिन्छ।
त्यसपछि यसलाई दैनिक २-३ घण्टामात्र चार्ज गरे पुग्ने पुराकोटी बताउँछन्।
‘यो मोबाइल जस्तै जहाँ पनि चार्ज गर्न सकिन्छ। यसमा अटोकट सिस्टम हुनाले
स्कुटरलाई चाहिने जति पावर पुगेपछि आफैँ चार्जिङ रोकिने हुन्छ। यसलाई
रातभरि प्लगमा जोडेर राख्न पनि सकिन्छ,’ उनले भने।
दैनिक चार्जै गर्दा यसले जम्मा १.५ देखि २ यूनिट मात्र विद्युत् खपत गर्ने
कम्पनीको भनाइ छ। फेयर अटो प्रालिले चाँडै नै नेपाल सुहाउँदो एल ७२ (७०
किमीदेखि ८० किमीसम्म माइलेज दिने) र ए २००० मोडलका दुई नयाँ विद्युतीय
स्कुटरहरु भित्र्याउने बताएको छ। उक्त स्कुटरहरुको मूल्य एक लाख ६० हजार
रुपैयाँको आसपासमा हुने पनि कम्पनीले बताएको छ।
नेपालमा प्राइम विजनेस प्रालिले पनि विद्युतिय स्कुटरहरुको विक्रीवितरण
गर्दै आइरहेको छ। टेकुस्थित आफ्नो सोरुमबाट कम्पनीले ‘हिरो इलेक्ट्रिक’
ब्राण्डको ‘फोटोन’ र ‘अप्टिमा प्लस’ दुई मोडलका स्कुटरहरु विक्रीवितरण
गर्दे आएको छ।
पेट्रोलियम पदार्थको अभाव बढ्दै गएपछि यी विद्युतीय स्कुटरहरुको माग पनि
बढ्दै गएको कम्पनीका सेल्स एण्ड मार्केटिङ प्रमुख नरेश शर्माले बताए।
‘हामीसँग भएका करिब ७० वटा स्कुटरहरु विक्री गरिसक्यौँ। अझै ४० भन्दा बढी
एड्भान्सड् बुकिङ पनि छन्। माग एकदमै बढ्दो छ, तर अवस्था अलि सामान्य
भएमात्र तिहार अघि नै केही मात्रामा डेलिभरी दिन सकिन्छ,’ उनले भने।
हिरो इलेक्ट्रिक फोटोनको मूल्य १ लाख ६० हजार रुपैयाँ र अप्टिमा प्लसको
मूल्य १ लाख ४५ हजार रुपैयाँ रहेको छ। इन्धनको आवश्यकता नपर्ने हिरो
इलेक्ट्रिक स्कुटरहरुलाई ५ घण्टादेखि लिएर ६ घण्टा भित्रमा फूल चार्ज गर्न
सकिन्छ र एकपटक फूल चार्ज गर्दा २.५ देखि ३ यूनिटमात्र विद्युत खपत गर्ने
शर्माले बताए। एकपटक फूल चार्ज गरेर काठमाडौं जस्तो ठाउँमा ५० किमीदेखि ६०
किमीसम्म गुडाउन सकिने शर्माले बताए।
यस्ता विद्युतीय स्कुटरहरुले इन्धनको समस्या समाधान गर्ने मात्र नभएर वातावरणमैत्री पनि छन्। कुनै पनि किसिमको प्रदुषण तथा धुँवा उत्सर्जन नगर्ने विद्युतीय स्कुटर इन्धनबाट चल्ने दुई पांग्रेको तुलनामा सस्तो पनि पर्छ। पेट्रोल हाल्न नपर्नेदेखि बाहेक कुनै पनि प्रकारको मर्मत खर्च नलाग्ने, पेट्रोल स्कुटरमा पाइने सम्पूर्ण सुविधा पाइने र पेट्रोल स्कुटरभन्दा कम मूल्यमा पनि पाइने हुनाले नेपाल जस्तो इन्धनमा परनिर्भर हुने देशका लागि यो उपयूक्त हुने व्यवसायीहरु बताउँछन्।
अझ काठमाडौँ उपत्यकाभित्र यात्रा गर्नका लागि यो झनै उपयूक्त भएको व्यवसायीहरुको भनाइ छ। तिव्र गतिमा नजाने र इन्धन नहुनाले सुरक्षाका हिसावले पनि विद्युतीय सवारीसाधन उत्कृष्ट विकल्प रहेको कम्पनीहरुको भनाइ छ।
only 18+ click here >>>>>>>>>
No comments:
Post a Comment