काठमाडौं-साढे तीन वर्षभन्दा लामो समय नेपाली क्रिकेट टोलीलाई प्रशिक्षण दिएका पबुदु दासानायकेले संयुक्त अरब इमिरेट्स (युएई) भ्रमण नेपाली प्रशिक्षकको रुपमा आफ्नो अन्तिम भ्रमण हुने बताइसकेका छन् । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप श्रृंखलाको बीचमै दसानायकेले नेपालसँगको नाता तोड्ने निर्णय लिएका हुन् ।
आन्तरिक द्वन्द्वमा रुमलिएको नेपाली क्रिकेटबाट अलग हुनका लागि दासानायकेले पपुवा न्युगिनी (पिएनजी) विरुद्धको दुई खेलपछि लागु हुनेगरी राजीनामा लिएका थिए ।
त्यही दुई मध्येको पहिलो खेलमा नेपालले सोमबार अबुधाबीस्थित शेख जायेद क्रिकेट मैदानमा पिएनजिको सामना गर्दैछ । ५० ओभरको उक्त खेलले आइसिसीबाट लिस्ट 'ए' को मान्यता पाएको छ । २ खेल खेलिसकेको नेपाल र पिएनजी दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । जितविहन दुई टोली अंकतालिकाको पुछारमा छन् । पिएनजीविरुद्धको खेलको तयारीका लागि नेपाली टोली झन्डै दुई सातादेखि युएईमा अभ्यासरत छ ।
अभ्यास भ्रमणका क्रममा नेपालले ३ वटा ५० ओभर र एउटा दुई दिवसीय खेल खेलेको थियो । नेपाल र हङकङबीचको दुई दिवसीय खेल बराबरीमा सकिएको थियो । एक दिवसीय खेलमा भने नेपालले विश्वकप विजेता रहिसकेको पाकिस्तानी टोलीसँग खेल्ने अवसर पाएको थियो । १ सय २१ रनले पाकिस्तानलाई नतिजा सुम्पनुका वावजुद त्यो खेलमा नेपालको प्रदर्शनको चर्चा भएको थियो । पाकिस्तानको शसक्त बलिङ सामु पूरा ५० ओभर खेलेको नेपाली टोलीले २ सय रनको आकडा पार गरेको थियो । स्थानीय डानुबे लायन्स क्रिकेट क्लबलाई १४ रनले हराएको नेपालले शनिबार ओमानसँगको खेल तीन विकेटले गुमाएको थियो ।
समग्रमा राम्रै तयारीको अवसर पाएको नेपाली टोली पिएनजीविरुद्धको खेलका लागि तयार रहेको प्रशिक्षक दासानायकेले बताएका छन् । 'टोली पिएनजीसँग खेल्न तयार छ,' उनले भने । अर्को खेल बुधबार हुनेछ ।
नेपालले विश्व क्रिकेट लिगमा यसअघि स्कटल्यान्डसँगका दुवै खेल गुमाएको थियो । जुलाईमा पहिलो खेल तीन रनले गुमाएको नेपाल अर्को खेलमा ९ विकेटले पराजित भएको थियो । अर्कोतर्फ पिएनजीले पनि जुनमा नदरल्यान्डसँगको खेल ५ विकेट र ८५ रनले गुमाएको थियो ।
च्याम्पियनसिपमा नेपाल र पिएनजीसहित नेदरल्यान्ड्स, स्कटल्यान्ड, केन्या, हङकङ, युएई र नामिबियाले प्रतिस्पर्धा गरिरहेका छन् । सबै टोलीले एकअर्कासँग दुई खेल खेल्नेछन् । आठमध्ये शीर्ष ६ मा रहेका टोलीले सन् २०१९ को आइसिसी विश्वकपको छनोट खेल्न पाउनेछन् । ६ अंकका साथ नेदरल्यान्ड्स शीर्ष स्थानमा छ भने समान अंक भए पनि नेट रनरेटका आधारमा स्कटल्यान्ड दोस्रो र केन्या तेस्रो स्थानमा छन् । त्यस्तै हङकङ चौथो, युएइ पाचौं, नामिबिया छैटौं तथा नेपाल र पिएनजी अन्तिम दुई स्थानमा छन् ।
No comments:
Post a Comment