Monday, October 19, 2015
नेपालको विजययात्रा जारी/अमेरिका ६ विकेटले पराजित.................
कात्तिक २, काठमाडौं ।
आइसीसी यु–१९ क्रिकेट विश्वकप छनोट क्रिकेटमा नेपालले विजय यात्रा जारी राखेको छ । समूहको तेस्रो खेलमा अमेरिकालाई डकवर्थ लुईस नियममा ६ विकेटले हराउँदै नेपालले छनोट चरण पार गर्ने सम्भावनालाई बलियो बनाएको छ ।
मलेसियाको किन्नरारा ओभल मैदानमा खराब मौसमका कारण ४८ ओभरमा छोट्याइएको खेलमा अमेरिका ४६ ओभरमा १ सय ९ रनमा अलआउट भयो । नेपालले १ सय ९ रनको लक्ष्य १७ दशमलव ५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । शुरुआतबाटै बिस्फोटक ब्याटिङ्ग गरेको नेपालले आफ्ना विकेटहरु एकपछि अर्को गर्दै गुमाएपनि झिनो लक्ष्य पूरा गर्न खासै मिहेनत गर्नु परेन ।
अविजित रहेका योगेन्द्रसिंह कार्कीले हाफ सेन्चुरी पूरा गरेपछि नेपालको जित सहज भएको थियो । उनले ५३ रन जोडे । कार्कीलाई सौरभ खनालले १६ रनमा साथ दिए । सुनिल धमलाले १७, शंकर रानाले १२ रनको योगदान गरे । दिपेन्द्रसिं ऐरी ५ र क्याप्टेन राजु रिजाल ६ रनमा आउट भए ।
यसअघि टस जितेर नेपालले फिल्डिङ्ग रोजेपछि ब्याटिङ्गका लागि उत्रिएको अमेरिकाको टप र मिडल अडर ब्याटिङ लाईन नराम्ररी ध्वस्त भएको थियो । सागर पटेलले सर्वाधिक ४४ रन जोड्नबाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन ।
२ खेलाडी डकआउट भएको खेलमा ७ जनाले दोहोरो अंकको स्कोर छुन सकेनन् । तोहिदुल इस्लामले १४ र गौरब पट्नाकरले ११ रनको योगदान गरे । नेपालका लागि प्रेम तामाङले सर्वाधिक ५ विकेट लिए । ९ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै ३१ रन खर्चेर ५ विकेट लिए । नेपाली बलरको कसिलो बलिङ सामू अमेरिकी ब्याट्सम्यानहरु क्रिजमा राम्ररी जम्न सकेनन् ।
नेपालका आरिफ शेखले २ सुशील कँडेल र दिपेन्द्र ऐरीले १–१ विकेट लिए । आजको जितपछि नेपालल समूहमा ६ अंकका साथ शीर्ष स्थानमा यथावत छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment