Saturday, October 17, 2015
नाकाबन्दी हटाउन पहल गर्न कमल थापा आज भारत जाने
काठमाडौं : भारतले लगाएको नाकाबन्दी, असहज आपूर्ति व्यवस्थालगायत दुई देशबीचको सम्बन्धमा पछिल्लो समयमा देखिएको असमझदारी हटाउन उपप्रधानमन्त्री थापा ६ सदस्यीय टोलीको नेतृत्व गर्दै शनिबार भारत जाँदैछन् ।
तीनदिने भ्रमणका क्रममा थापाले भारतले नेपालमाथि लगाएको नाकाबन्दी हटाइदिन भारत सरकारसँग औपचारिक संवाद गर्न लागेका हुन् । भारतसँग चिसिएको सम्बन्ध सुधार्न आफूले कुराकानी गर्ने मन्त्री थापाले बताए।स्रोतका अनुसार मन्त्री थापाको भ्रमणका क्रममा प्रधानमन्त्री केपी ओलीको सम्भावित भारत भ्रमणबारे समेत छलफल हुने भएको छ । ओलीलाई प्रधानमन्त्री निर्वाचित भएकोमा भारतीय समकक्षी नरेन्द्र मोदीले टेलिफोनमा बधाई दिँदै भारत भ्रमण गर्न निम्तो दिएका थिए ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उपप्रधानमन्त्री थापाले समकक्षी सुष्मा स्वराजसँग शनिबार साँझ ७ बजे भारतीय विदेश मन्त्रालयमा द्विपक्षीय वार्ता गर्ने निश्चित भएको छ । भारतीय प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र विदेश सचिव एस जयशंकरले मन्त्री थापालाई अलगअलग भेट्ने भएका छन् ।
भारतीय समकक्षी स्वराजको निमन्त्रणामा भारत भ्रमण गर्न लागेका थापाले भारतसँग चिसिएको सम्बन्धबारे कुरा गर्न प्रधानमन्त्री मोदीसँग भेट्न चाहे पनि बिहीबार बेलुकीसम्म तय भएको छैन । भ्रमणमा थापाले मधेसवादी दलसँग वार्ता गर्न प्रधानमन्त्रीले आह्वान गरिसकेको र उनीहरूका माग सम्बोधन गर्न संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता भइसकेकोबारे भारतीय नेतृत्वलाई अवगत गराउने भएका छन् ।
भ्रमण टोलीमा वाणिज्य मन्त्रालयका सचिव ङइन्द्र उपाध्याय, परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाशकुमार सुवेदी, उपसचिव भरतकुमार रेग्मी, उपसचिव भृगु ढुंगाना र अधिकृत हरि ओडारी छन् । त्यस्तै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, दूतावास उपप्रमुख कृष्ण ढकाल र पोलिटिकल काउन्सिलर तीर्थराज वाग्ले नयाँदिल्लीमा हुने उच्चस्तरीय भेटवार्तामा सहभागि हुनेछन् ।
‘भारतसँग केही समययता देखिएको तिक्तता हटाउने उद्देश्यले यो भ्रमण हुन लागेको हो । भ्रमणले द्विपक्षीय सम्बन्धको आधारलाई नयाँ उचाइ प्रदान गर्ने मैले विश्वास लिएको छु’, नाकाबन्दी हटाएर भारतबाट इन्धन र उपभोग्य सामान नेपाल ल्याउन पहल गर्न गठित समितिका संयोजक रहेका मन्त्री थापाले पत्रकारसम्मेलनमा भने ।
थापाले दसैं, तिहार, छठजस्ता चाडपर्व नजिकिँदै गएको बेला इन्धन र ग्यासको अभाव हुँदा जनताको जीवनयापन प्रभावित हुँदै गइरहेको बारे भारतीय पक्षसँग कुराकानी गर्ने बताए ।
उनले भारतीय प्रधानमन्त्रीले गत एक वर्षको अवधिमा दुईपटक नेपाल भ्रमण गरी नेपालसँगको सम्बन्धलाई गुणात्मक रूपमा सुधार गरिसकेकाले अबका दिनमा पनि सम्बन्ध त्यहीअनुसार अघि बढ्ने अपेक्षा लिएको बताए । ‘वीरगन्जबाहेक अन्य सीमानाकाबाट यातायात र आवागमन केही खुला भइसकेको अवस्था छ’, थापाले भने, ‘अहिलेको दुई देशबीचको तिक्तता अस्थायी मात्रै हो भन्ने लाग्छ ।’
यसैबीच भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले नयाँदिल्लीस्थित विदेश मन्त्रालयमा आयोजित पत्रकारसम्मेलनमा नेपालका उपप्रधानमन्त्री थापा सरकार गठन भएको एक सातामै पहिलो विदेश भ्रमणमा भारत आउन लागेको बताए । ‘उपप्रधानमन्त्री थापाको भ्रमण दुई देशबीचको सम्बन्धको पुनरावलोकन गर्ने तथा अझै सुदृढ गर्नेबारे कुराकानी गर्ने अवसर हो’, उनले भने ।
स्वरूपले मधेसमा जारी आन्दोलनका कारण नेपालतिर भारतीय गाडी आउन नपाएको दाबी गर्दै भारतले नेपालमा घोषित वा अघोषित नाकाबन्दी नलगाएको बताए । ‘नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे भ्रमणमा कुराकानी हुनेछ’, उनले भने ।
यसैबीच नेपाल आयल निगमका अधिकारीले भारतीय आयल निगमका अधिकारीसँग शुक्रबार वार्ता गरी पेट्रोलियम पदार्थ सहज रूपमा नेपालतर्फ पठाउनेबारे छलफल गर्ने भएका छन् । आयल निगमका निमित्त निर्देशक मुकुन्द घिमिरे बिहीबार नयाँदिल्ली पुगेका हुन् ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment