नालापानीको युद्ध (English: Battle of Nalapani) नेपालले ब्रिटिश सरकारसँग लडेको पहिलो साहसिक युद्ध थियो[१] जसमा गोर्खाको घर अधीनमाब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपाली सेना बीच लडाईं भएको थियो । नेपालको इतिहासमा उल्लेख गरिए अनुसार सन् १८१४ अक्टोबर २२ का दिन अङ्ग्रेज सेनानायक जनरल गिलेस्पीले आफ्ना फौज लिएर देहरादून प्रवेश गरेका थिए । देहरादून कब्जा गर्ने अङ्ग्रेजहरूको योजना विफल पार्ननेपालका सेनापति अमरसिंह थापाले उक्त इलाकाको रक्षार्थ कप्तान बलभद्र कुँवरलाई खटाएका थिए । नालापानीको सबैभन्दा उच्च स्थानमा पर्ने खलङ्गा किल्लामा वीर बलभद्र कुँवरले आफ्ना नेपाली सिपाही, ग्रामीण महिला तथा केटाकेटी गरी करिब छ सय जनाको साथ बलभद्र युद्धको तयारी गरेका थिए।[२] नेपाली फौजसित हतियारका नाममा केही तोप, भरुवा बन्दुक, ढुङ्गामुढा, खुकुरी, धनुष बाण, भालाजस्ता अल्पविकसित साधनहरू मात्रै थिए । अङ्ग्रेजहरूका आधुनिक हतियार र सुसङ्गठित ठूलो फौजको सामना गर्नु नेपाली सेनालाई फलामको चिउरा चपाउनु बराबरको काम थियो । त्यसै बखत ३० अक्टोबरका दिन गिलेस्पीले आफ्ना मतहातमा भएका तीन हजार पाँचसय भन्दा बढी सेनाको साथमा किल्लामाथि आक्रमण सुरू गरे । किल्लातर्फ बढेका अङ्ग्रेज फौजका केही अधिकृत जवान मात्र बाँच्न सफल भए । लेफ्टिनेन्ट एलिससहित अङ्ग्रेजका धेरै सेनाहरू युद्धमा मारिए । प्रथम प्रयास असफल भएपछि अङ्ग्रेजहरूले थप तयारी गरी दोस्रो पटक हमला गरे । दोस्रो पटक जनरल गिलेस्पीसमेत मारिए । गिलेस्पीको मृत्युपश्चात् तितर-वितर फौजको नेतृत्वका भार कर्नल माँबीले सम्भहाले ।
माँबीको पटक-पटकको आक्रमण असफल भएपछि अङ्ग्रेजहरू युद्धद्वारा नेपाली वीर गोर्खालीलाई परास्त गर्ने आशा मारे । त्यसपछि अङ्ग्रेजहरूले कूटनीति अपनाई किल्लाभित्र गएर र पानीको मुहान थुनिदिए । अङ्ग्रेजहरूको उक्त धोकापूर्ण चालले नेपालीले पानीसमेत पिउन पाएनन् । पानीको प्यासले किल्लाभित्र हाहाकार मच्चिन थाल्यो । बाहिरबाट शत्रुका तोपहरूको अग्निवर्षा जारी थियो भने भित्र सारा फौज प्यासले तड्पिरहेका थिए । त्यस्तो दर्दनाक परिस्थितिमा जीवित रहेका बाँकी वीर सेनाको हितका लागि बलभद्रले स्वतः किल्ला छोड्नुपरेको थियो । सन् १८१४ नोभेम्बर ३० मा बलभद्रले किल्ला छोडेर जाँदा साथमा ७० जना जति मात्र बाँकी थिए । किल्लाको स्वतः त्यागपछि मात्र अङ्ग्रेजहरूको पाइला खलङ्गा किल्लासम्म पुग्न सकेको थियो । युद्ध पश्चात् नेपालीहरूको पराक्रम र बहादुरीको प्रशंसा गर्दै अङ्ग्रेजहरूले एक युद्ध स्मारकको स्थापना गरे । उक्त स्मारकको शिलालेखमा लेखिएको छ- हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोर्खालीहरूको स्मृतिमा सम्मानोपहार हालको देहरादून स्थित सहस्त्रधार रोडमा पर्ने स्मारक भारतीय पुरात्तव विभागको संरक्षणमा छ। यो विश्वभरिको एक मात्र त्यस्तो उदाहरणीय स्मारक मानिएको छ जहाँ कुनै सेनाद्वारा आफ्नो शत्रु सेनाको अद्भूत वीरतालाई उल्लेख गरिएको छ । भारतको उत्तराखण्ड राज्य अन्तर्गत पर्ने देहरादूनको नालापानीमा पर्ने खलङ्गा किल्लाले नेपाल र नेपालीको गौरवमय इतिहास बोकेको छ ।
नालापानी युद्ध त्यसबेला सात समुद्रपारबाट आएको अंग्रेजी साम्राज्य विस्तारको महत्वाकांक्षा र यस क्षेत्रमा एउटा बलियो हिमाली अधिराज्य खडा गर्ने आवश्यकता बीचको टकराव थियो। उता अंग्रेज शक्तिले 'फुटाऊ र राज्य गर'को नीति लिएर हिन्दूस्तानमा आफ्नो कब्जा जमाइरहेको अवस्था थियो। यता त्यस शक्तिसँग जुध्न सक्ने अवस्था सिर्जना गर्न परिस्थितिले उब्जाएको आवश्यकता अनुरूप गोर्खाली शासन अन्तर्गतको नेपाल निर्माण अभियान अगाडि बढिरहेको थियो।
सूर्य अस्त नहुने साम्राज्यसँग भिड्दै स्वतन्त्र अस्तित्वको हिमाली अधिराज्य खडा गर्ने काम कम्ती हाँकपूर्ण थिएन। त्यसैले विभिन्न ठाउँमा भएका युद्धमा दुबै पक्षमा ठूलै हताहत भएका ऐतिहासिक प्रमाण पाइएका छन्। यस्तै ठूलामध्ये नालापानीमा दुई सय वर्षअघि भएको युद्ध पनि विशेष महत्वको घटना हो।
नेपालको अस्तित्वका लागि घमासान युद्ध भएको दुई शताब्दी बित्दा राष्ट्र निर्माणमा लागिपरेका वीर योद्धाहरूको सम्झना हुनु स्वाभाविक हो। यस नालापानी युद्धमा अंग्रेज तर्फका सेना नायक मेजर जनरल रोलो जिलेस्पीलगायत अनेकौं योद्धाहरूको अवसान भएको थियो भने नेपालतर्फ पनि त्यतिकै नोक्सानी पुग्यो। कात्तिक १० देखि सुरू भएको यस युद्धको प्रारम्भमा अंग्रेजतर्फ हार भएको थियो।
ढुंगा र घुयत्रो चलाएर तोप, गोलाबारी र बन्दुकसँग लड्नु सजिलो थिएन। तैपनि त्यतिबेलाका वैरीहरूसँग साहसिक ढंगले नेपाली सेनाले नालापानीको युद्धमा लडेका थिए। जर्नेल जिलेस्पीको आक्रमणको प्रतिरोध गर्न नेपालतर्फबाट कप्तान बलभद्र कुँवर खटिएका थिए जसलाई हाम्रो इतिहासमा वीर वलभद्र कुँवर भनेर चिनिन्छ।
उनी पञ्जावको लाहोरमा गोर्खा सैनिक कम्पनीको नायक बनी पञ्जाबकेशरीको सेवामा रहेका हुनाले हामीकहाँ सैनिक क्षेत्रमा काम गर्न बाहिर जाने कामलाई 'लाहुरे हुने' र कुनै पनि विदेशी भूमिमा जानुलाई 'लाहुर जाने' भन्ने चलन चलेको प्रशंग स्मरणीय छ। पञ्जाब अन्तर्गत लड्दा पेसावर नौसेराको युद्ध, अफगानिस्तान युद्ध आदिमा बलभद्र र उनी अन्तर्गतका गोर्खालीहरूको वीरताको उल्लेख पाइन्छ। त्यसैकारण हुनसक्छ गोर्खालीलाई निडर वीरयोद्धाको रूपमा पछि अंग्रेजहरूले हिन्दूस्तानसम्मको राष्ट्रिय सेनाकै अंग बनाई स्थान दिने गरेको पाइन्छ। वलभद्रको अवसान पनि पेसावरको युद्धमा वीरताका साथ लड्दालड्दै ३४ वर्षजतिकै उमेरमा मार्च १३, १८२३ का दिन भएको थियो।
त्यसैले इतिहासमा बलभद्र कुँवर र उनका सन्ततिहरूलाई यहाँका शासकहरूले अलिक पछिल्ला कालसम्म पनि विशेष प्रबन्धका साथ जग्गाजमिन, सुविधा आदि सुविधा दिएका ऐतिहासिक प्रमाणहरू पाइएका छन्। बलभद्र कुँवरलाई उनको वीरताको कदर गर्दै देहरादुनको रिस्पना नदीे किनारमा सन् १८२४ मा अंग्रेजहरूले विशेष शिलालेख र स्तम्भ खडा गरे जसमा 'हाम्रा सशक्त शत्रु बहादुर गोर्खाका सेना नायक बलभद्र जो किल्लापति थिए उनी पछि रणजीत सिंहको सेनामा गएका बेला यहाँ पराजीत भएका थिए' भनेर सम्मान गरिएको देखिन्छ।
नालापानीका पहिलेका युद्धमा अंग्रेजहरूको नराम्रो हार भएपछि त्यहाँ नेपाली तर्फबाट भएका तयारी र वीरता देखेर अंग्रेजतर्फबाट विशेष योजनासाथ पुनः आक्रमण भयो। त्यस्तो विशेष र पानीको स्रोत कटाइदिनेसम्मका छलकपटपूर्ण नीति नभएका भए नेपालीतर्फकै अन्तिम विजय हुने सम्भवना देखिन्थ्यो। १८७१ कात्तिक १७ मा भएको घमासान युद्धमा जनरल रोलो जिलेस्पीको अवसानले अंग्रेजतर्फ निकै हतोत्साहित भएको थियो।
तर, अंग्रेजहरूको विशेष तयारी र जसरी पनि किल्ला कब्जा गर्ने योजना र उनीहरूको साथमा भएका विशेष किसिमका युद्ध सामग्रीको उपयोगले र घेराबन्दी गरी खाना र पानीको अभावको स्थिति सिर्जना गरेर अंग्रेजहरूले अन्तिम युद्धमा गोर्खालीलाई परास्त गर्न सफल भए। अन्तिम समयसम्म बलभद्र कुँवर र उनका साथका नेपाल पक्षका अरू सैनिक अधिकारी तथा अन्य लडाकुहरू ७०/७२ जना मात्र बाँकी हुँदा पनि अदबसाथ किल्ला बाहिर निस्किएको भन्ने तात्कालीक विवरणले नेपाल पक्षले पूरा हार स्विकार गर्नै नमानेको जस्तो बुझिन्छ।
नालापानीको अंग्रेजसँग भएका अन्य युद्धभन्दा धेरै लामो समयसम्म रह्यो। यसकाण पनि यो युद्ध हाम्रो इतिहास अध्ययनका निमित्त महत्वपूर्ण रहेको छ। रसदपानीको अभाव र वाह्य सहयोगबाट बञ्चित भएर पनि निरन्तर एक महिनाभन्दा बढी बलभद्र कुँवरको नेतृत्वमा रहेका गोर्खालीहरूले आफ्नो संख्याभन्दा अत्यधिक संख्यामा भएका (पाँच गुणासम्म बढी भनिएको छ) आधुनिक यान्त्रिक हतियारले सुसज्जित भएकासँग अद्वितीय बहादुरी प्रस्तुत गरेको युद्ध थियो।
त्यतिबेला युद्ध पद्दतिमा सैनिक नायक तथा लडाकुका जहान परिवार पनि खलंगाभित्र रहने चलन वा परम्परा थियो। यस नालापानीको युद्धमा पनि अन्तिम समयसम्म ढुंगा, घुयत्रो चलाउँदै वाह्य शत्रुको आक्रमणबाट रगतपच्छे भएका महिला र बालबालिकाहरू पनि स्वाभिमानका साथ लडेको प्रशंग तात्कालीक अंग्रेजहरूकै विवरणबाट पनि बुझ्न सकिन्छ।
त्यसमा नेपालीका सुवेदारदेखि जवानसम्मका केटाकेटी र पीपासमेत गरी १ सय ८५ जनाजतिले वीरगति प्राप्त गरेका र कतिपय भागेर किल्ला बाहिरिएका र झण्डै दुई सयजति घाइते भएका थिए भन्ने विवरण पनि विभिन्न स्रोतमा पढ्न पाइन्छ। ज्यादै अप्ठ्यारो अवस्थामा पनि गोर्खाली सेनापतिहरूले युद्धलाई आलटाल गर्दै अल्मल्याउँदै पछाडि धकेल्न सके बर्षादको याम आइपुग्दा अंग्रेजहरूलाई भगाउन सकिन्छ भन्ने सोच बनाएका थिए। तर, अंग्रेजहरूको जसरी पनि किल्ला हत्याउने उद्देश्यले थप सैन्य सामग्रीसहितको आक्रमण र छलछामसम्मको प्रयोगले नालापानीको किल्ला अन्ततः अंग्रेजले हत्याउन सफल भएको देखिन्छ।
यसरी निर्भिकताका साथ लडेर निर्माण गरिएको नेपाली वीरताको इतिहासलाई हामीले खासै सम्मान गर्न सकेका छैनौं। उक्त युद्धको समाप्तिभन्दा केही समयपछि नेपालले विजय गरेका एक तिहाइ भूभागहरू बडो लज्जास्पदरूपमा गुमाउन पुग्यो। यस युद्धपछि महाकाली पारिका र पश्चिम तराईतर्फका भू–भाग नेपालले गुमायो। पछि जंगबहादुर कुँवर (राणा)को अनेक कुटनीतिक प्रयासले नयाँ मुलुकका रूपमा चिनिने बाँके, बर्दिया कैलाली कञ्चनपुर आदि भू–भागहरू फिर्ता पाउन हामी सफल भयौं। तर अधिकांश भू–भाग गुमेका गुम्यै भए।
अहिले पनि त्यस इतिहासको मूल्यांकन हामीले गर्न सकेनौं भने ती योद्धाहरूका देनलाई बिर्सिएको अभियोग हामीमाथि लाग्न सक्छ। तर, अहिले सम्झनेभन्दा बिर्सनेतर्फ हाम्रा पाइलाहरू चलिरहेका छन्। अहिले हामी इतिहासका यथार्थलाई स्विकार्ने भन्दा भत्काउने वा विस्मृति लैजानेतर्फ उन्मुख छौं, जसले नेपालको भविश्यलाई उचित मार्गमा निर्देशित गर्न नसक्ने पक्का छ।
for xxx videos click here >>>>>>>
No comments:
Post a Comment