१३ पुस, काठमाडौं । बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भारतले धोका दिएको आरोप लगाएका छन् ।
मधेसी मोर्चासँगको सहमति प्रयासबारे छलफल गर्न सोमबार बिहान बालुवाटारमा प्रमुख विपक्षी नेपाली कांग्रेससहित एमाले र एमाओवादीको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री ओली भारतप्रति आक्रामकरुपमा प्रस्तुत भएको एक नेताले अनलाइनखबरलाई जानकारी दिए ।
प्रधानमन्त्री ओलीले पूर्वसमझदारी अनुसार भारतले नाका नखोलेको बताए । उनले भने- ‘हाम्रो समझदारीअनुसार भारतले नाका खोलेन, नेपाललाई किन यस्तो व्यवहार गर्दैछ ?’
मंसिर तेस्रो साता उपप्रधानमन्त्री कमल थापाको दिल्ली भ्रमणपछि सरकारले भारतसँगको असमझदारी हटेको बताएको थियो । मधेस समस्या समाधानका लागि थापाले अघि सारेको चारबुँदे रोडम्यापमा दिल्लीले समेत समर्थन जनाएको थियो ।
र, त्यस अनुसार मन्त्रिपरिषद् बैठकले तीनबुँदे प्रस्ताव नै पास गरेर मधेसी मोर्चालाई बुझाएको थियो । उपप्रधानमन्त्री थापाको दोस्रो दिल्ली भ्रमणपछि प्रधानमन्त्री ओली नाका खुल्नेमा निकै आशावादी बनेका थिए ।
दिल्लीले बढी चासो दिएको संविधान संशोधन प्रक्रियासमेत सरकारले अघि बढाइसकेको छ । तर, सीमानाकामा भइरहेको अवरोध नहटेपछि प्रधानमन्त्री ओली भारतप्रति आक्रामक बनेका हुन् ।
आइतबार भारतीय राजदूत रणजीत रायसँग आफ्नो भेटवार्ता भएको सुनाउँदै प्रधानमन्त्री ओलीले मधेसी मोर्चालाई समेत मिलाएर लैजान भारतले भनेको सुनाए । तर, प्रधानमन्त्री मधेसी मोर्चाका मागप्रति भने सोमबार बालुवाटारको बैठकमा सकारात्मक देखिएनन् ।
मधेसी मोर्चाको आन्दोलन निहुँ मात्र भएको भन्दै प्रधानमन्त्री ओलीले भारतले दुश्मनको व्यवहार गरेको तीन दलको बैठकमा बताए ।
स्रोतका अनुसार तीन दलको बैठकमा ओलीले अब भारतसँग उच्चस्तरमा र निर्णायक छलफल गर्ने प्रस्ताव राखेका छन् । यसबारे तीन दल सहमत छन् । स्रोतले भन्यो- ‘अब भारतसँग निर्णायक र गम्भीर ढंगले सरकार र दलहरुले छलफल गर्ने भन्ने समझदारी भएको छ ।’
तर, बैठकको अन्तिममा कांग्रेस नेताहरुले यसबारे एकपटक पार्टीमा छलफल गर्ने बताएका छन् ।
No comments:
Post a Comment