Saturday, October 17, 2015
कसरी हुन्छ म्याच फिक्सिङ?...जनिराखौ
नेपाली खेल जगतका बन्द कोठाहरूमा पहुँच भएकाहरूलाई थाहा छ, फुटबल ‘म्याच फिक्सिङ’ प्रकरणमा अचम्म मान्नुपर्ने केही छैन।
 
नेपाली टोलीका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलरक्षक रितेश थापा, थ्रीस्टारका पूर्वखेलाडी विकाससिंह क्षेत्री र पूर्वखेलाडी तथा प्रशिक्षक अञ्जन केसी ‘म्याच फिक्सिङ’ अर्थात् मिलोमतोपूर्ण पराजयको आरोपमा पक्राउ पर्नुले नेपाली खेल जगत, खासगरी खेलप्रेमी स्तब्ध हुनु स्वाभाविक हो।
 
प्रमाणित हुन नसके पनि न यो नेपाली फुटबलको पहिलो यस्तो घटना हो न विश्व इतिहासकै।
***
इतिहास
सय वर्षअघि अप्रिल २, १९१५ मा म्यानचेस्टर युनाइटेड र लिभरपुलको एक महत्वपूर्ण खेल ओल्ड ट्राफर्डमा हुन गइरहेको थियो। अहिलेका म्यानचेस्टर युनाइटेडका समर्थकलाई विश्वास गर्न गाह्रो होला, तर म्यान यु रेलिगेसनको संघारमा थियो।
 
दुई ठूला टिमबीचको म्याच निकै रोमाञ्चक हुने सबैले अनुमान गरेका थिए। तर, दुवै टिमका केही खेलाडी र बाहिरका व्यक्ति मिलेर बुकी (सट्टाबजारमा बाजी थाप्ने) को सहयोगमा म्यानचेस्टरले त्यो खेल २–० ले जित्नेमा बाजी थापियो। २–० को बाजी लगाउनेले बाजी लगाउने पैसाको ८ गुणा पाउने तय भएको थियो।
 
लिभरपुल बलियो भएकाले त्यो बाजीविरुद्ध धेरैले पैसा लगाए। खेल फिक्स भएकाले लिभरपुलका खेलाडीले जानाजानी खराब खेलेर टिमलाई हराए। खेल फिक्स गर्नेले पैसा कमाए।
 
त्यो वर्ष म्यान यु रेलिगेसनमा जानबाट एक अंकले बच्यो।
 
म्याचपछि रेफ्री जोन शार्पले भने, ‘मैले खेलाएका म्याचमध्ये यो सबैभन्दा असाधारण थियो।’
 
खेलको स्थिति यतिसम्म असाधारण थियो, लिभरपुलका फरवार्ड फ्रेड पग्नमको सट क्रसबारमा ठोक्किँदा उनका टिम सदस्यले गाली गरे। गालीको कारण गोल मिस गरेकोमा नभएर झन्डै गोल गरेर म्याचको पूर्वनिश्चित परिणाम पल्टाउने प्रयास गरेकोमा थियो।
 
खेल सकिएको केही दिनमै नतिजा पूर्वनिर्धारित भएको चर्चा सुरु भयो। अनुसन्धान पनि भयो। नौ महिनापछि सार्वजनिक अनुसन्धान प्रतिवेदनमा भनियो, ‘म्याचमा पैसा लेनदेन भएको देखिएको छ। केही खेलाडीले मुनाफा कमाएका छन्। यसले खेलको भावनामाथि खेलवाड हुनुका साथै यसको निष्पक्षता र इमानदारीलाई कम गर्ने प्रयास भएको छ।’
 
लगत्तै सात खेलाडी (४ लिभरपुल र ३ म्यानचेस्टर) माथि आजीवन र लिभरपुलका थप दुई खेलाडीमाथि आंशिक प्रतिबन्ध लगाइयो। फुटबल टिमको अंकमा भने संशोधन गरिएन।
 
संयोग, तीन वर्षपछि त्यही खेलमा दुई गोल गर्ने जर्ज एन्डरसनलाई प्रहरीले मिलेमतोको आरोप लगायो। त्यो म्याचका लागि भएको अनुसन्धानमा भने उनलाई आरोपमुक्त गरिएको थियो।
 
यसलाई फुटबल इतिहासमै अनुसन्धान र कारबाहीसमेत भएको पहिलो ‘फिक्सिङ’ मानिन्छ।
...
 
कसरी हुन्छ फिक्सिङ?
फुटबल क्रिकेटजस्तो बीच–बीचमा रोकिने खेल होइन। यसमा खेल एकतमासले चलिरहेको हुन्छ। त्यसैले फिक्सिङ सजिलो हुन्न। तैपनि अहिलेसम्म इतिहासमा हजारौं खेल फिक्स भएका छन्।
 
फिक्सिङ हुन सबैभन्दा पहिले कुनै खेलमा ठूलै रकमको बाजी लगाइन्छ। प्रायः यस्तो हुने एसियाको सट्टाबजारमा हो, जुन युरोप र अमेरिकाको भन्दा धेरै ठूलो छ।
 
एक अनुमानअनुसार एसियाको खेल सट्टाबजारमा प्रतिदिन हुने कारोबार न्यू योर्क स्टक एक्चेन्जको भन्दा ठूलो छ। बजारमा एजेन्सीहरूको ध्यान आकर्षित होला भन्ने डरले फिक्सरहरूले बाजीमा आफैं पैसा नहाली अरूको माध्यमबाट सानो रकम लगाउने गर्छन्। त्यसपछि ठूला फिक्सरले म्याच फिक्स भएको हल्ला फैलाउछन् तर अर्को टिमले फिक्स गरेको भनेर। त्यसले सट्टाबजारमा त्यो बाजीको भाउ बढ्छ। अनि फिक्सरहरू आफ्नो बाजीअनुसार टिम मिलाउनतिर लाग्छन्।
 
विश्वकै कहलिएका म्याच फिक्सर सिंगापुर नागरिक विल्सन राज पेरुमलको सन् २०१२ मा आएको किताबमा उद्धृत नेपालको प्रसंग, नेपाली कप्तान सागर थापासँगको भेटघाट र उनलाई गरेको ‘सहयोग’ को स्विकारोक्ति फिक्सिङ पुष्टि गर्न पर्याप्त छन्।
 
फिक्सिङका मोटामोटी तीन तरिका छन् :
 
पहिलो हो, रेफ्री।
 
विश्वभरि नै हरेकजसो ठाँउमा केही न केही लोभी अधिकारी हुन्छन्, जसलाई खाइपाई आएको पैसाले चित्त बुझेको हुन्न। प्रायः उनीहरूलाई नै यस्तो काममा प्रयोग गरिन्छ। बार वा अन्य कुनै ठाउँमा कुनै महिला रेफ्रीसँगको पहिलो भेटमै मुग्ध हुनु र उनीहरू दुवै एउटै कोठामा भेटिनु खेल क्षेत्रमा नौलो होइन। अचेल त महिला यौनकर्मी रेफ्रीको कोठामा भेटिनुजस्ता घटना समाचारसमेत बन्न छाडिसके। यस्ता हरेक घटनामा पैसाले गोजी साटेकै हुन्छ। अन्वेषणहरूले देखाएका छन्, हस्पिट्यालिटीका नाममा पठाइने यस्ता महिला वास्तवमा कसैको सन्देश लिएर गएका हुन्छन्।
 
एकपटक यौन कार्यमा परिसकेपछि यी अधिकारी, जो प्रायः विवाहित हुन्छन्, ब्ल्याकमेलिङको फन्दामा पर्छन्। नमानेमा बेइज्जतीको डर, माने पैसा कमाइने लोभ। यस्तो दोधारमा धेरैजसोले ‘सेफ’ बाटो नै रोज्छन्। त्यसपछि सुरु हुन्छ, अवाञ्छित रेड कार्ड र पेनाल्टीको शृंखला।
 
यति हुँदाहुँदै फुटबलमा रेफ्रीको फिक्सिङ गराउन सक्ने भूमिका सीमित हुन्छ। आफ्नो करिअर नै दाउमा राखेर फिक्सिङ गर्ने र गराउने पनि कमै हुन्छन्।
 
दोस्रो तरिका हो, विपक्षी टिमबाट ४–५ जना खेलाडी रोजेर उनीहरूलाई आफ्नो गेम फाल्न लगाउनु। नेपाली खेलाडी आरोपित भएको यही तरिकाको एउटा उदाहरण हो।
 
यो तरिकाको फाइदा के छ भने यसमा दर्शकले म्याच फिक्स भएको खासै थाहा पाउँदैनन्। यसमा एकातिर ६ जना खेलाडी खेल जित्ने भरमग्दुर प्रयास गरिरहेका हुन्छन् भने अर्कातिर ५ जना खेल जित्ने प्रयास गरेको भरमग्दुर नाटक गरिरहेका हुन्छन्। दर्शकहरूका लागि ११ खेलाडीले नै ज्यान लगाएर खेलिरहेको भान पर्छ। कसले जानीजानी वा अन्जानमा गल्ती गरेको हो, खुट्ट्याउन मुश्किल हुन्छ।
 
खेलमा कुनै गडबड हुँदा सबै खेलाडी चिच्याउने र गाली गर्ने सामान्य नै हो। यस्तोमा फिक्सिङ भएको भन्न गाह्रो हुन्छ। कुनै पनि टिममा ५–६ जना भ्रष्ट खेलाडी को हुन् भनेर चिन्न सजिलो होइन। फिक्सिङ गर्नेले जुन पायो त्यो खेलाडीलाई म्याच फिक्सिङमा लगाउनु पनि नोक्सानदेह हुन सक्छ। ठूलै पैसा सट्टाबजारमा नलागेसम्म फिक्सिङको कुरा पनि भएन। त्यसैले, गोप्यता अर्को जरुरी पाटो हो, फिक्सिङको।
 
तेस्रो र सबैभन्दा प्रभावकारी तरिका हो, फिक्सरले क्लब मालिकलाई नै पैसाको प्रलोभन दिएर पूरै टिम फिक्स गराउनु।
 
कुनै पनि लिगमा हरेक टिम उपाधिका लागि मात्र खेल्दैनन्। २–४ टिम उपाधिका दाबेदार हुन्छन् भने २–४ टिम रेलिगेसनको डरमा। बाँकी टिम न उपाधिको आशमा खेल्छन् न त रेलिगेसन बचाउने डरमा। क्लब मालिकहरूको एउटै ध्येय हुन्छ, पैसा कमाएर क्लबलाई बलियो बनाउने र अर्को सिजनमा उपाधिको दाबेदार बन्न राम्रा खेलाडी किन्ने।
 
सबैलाई थाहा भएको कुरा हो, खेलमा जित र हार त हुन्छ नै। यसैको फाइदा उठाउँदै यी टिम सट्टेबाजको निशानामा पर्छन्।
 
तेस्रो तरिकाको म्याच फिक्सिङमा क्लबहरूलाई राम्रो आम्दानी हुन्छ। सबै देशका लिग इपिएलजस्ता छैनन्, जहाँ लिग विजेता र लिगमा पुछारमा भएका टिमको आम्दानीमा आकास–जमिनको अन्तर हुन्न। त्यस्ता लिगमा केही क्लबले जितेपछि पाउनेभन्दा हारेपछि गर्ने आम्दानी ठूलो हुन्छ। यसका लागि क्लब मालिकले धेरै कुरा गर्नु पर्दैन। टिम मिटिङमा गएर ‘तिमीहरू फलानो फलानो म्याच नहारे पछिल्ला महिनाका तलब पाउँदैनौ’ मात्र भनिदिए पुग्छ। त्यसपछि खेलाडीले दर्शकले थाहा नपाउने गरी म्याच हारिदिन्छन्।
 
यसको मतलब हरेक खेल मिलोमतोमै निर्धारित हुन्छ भन्ने कदापि होइन।
 
केही वर्षअघि युरोपको एउटा गोप्य सर्वेमा धेरै खेलाडीले फिक्सिङका लागि दबाब र धम्की आउने गरेको स्विकारेका थिए। तीन हजार खेलाडीसँग साक्षात्कार गरी तयार पारिएको उक्त प्रतिवेदनमा भनिएको थियो, ‘धेरैजसो दबाब र धम्की क्लब सञ्चालकहरूबाटै आउने गर्छ।’
 
नेपाली खेलाडीले सामान्य रूपमा नस्विकारे पनि क्लबका केही पदाधिकारीको गाली–धम्की खानुपरेको गाइँगुइँ सुनिने गरेको छ।
 
एक–डेढ वर्षअघि एक नेपाली क्लबमा आबद्ध अधिकारीले मलाई सुनाएका थिए, ‘मलाई साह्रै अचम्म के लाग्छ भने हाम्रा क्लबका सञ्चालक बोर्ड बैठकमा पनि कसरी कुन क्लबसँग, कुन खेलाडीलाई ‘मिलाएर’, कति पैसा खर्च गरेर म्याच फिक्स गर्ने कुरा गर्छन्। यति समय खेल रणनीति बनाउन खर्च गरे त टिम आफैं जित्थ्यो होला।’
 
अब प्रश्न उठ्छ, क्लबजस्तै राष्ट्रिय टिमको खेल फिक्स गर्न मिल्छ?
 
प्रतिप्रश्न गर्न सकिन्छ, किन मिल्दैन? खासगरी त्यस्ता टिममा, जहाँ व्यावसायिक प्रशिक्षक र म्यानेजर राष्ट्रिय टोलीका सञ्चालक नभएर प्रोक्सी आधारमा अरू कसैले चलाइरहेका हुन्छन्।
 
उदाहरणका लागि, नेपाली टिममा आउने विदेशी कोचको सधैं कम्प्लेन हुन्छ, ‘यो टिमको कोच म हो कि एन्फा अध्यक्ष?’
 
लामो समयदेखि एन्फा अध्यक्ष रहेका गणेश थापाले प्लेइङ इलेवेनमा को को राख्नेदेखि खेल क्रममा खेलाडी परिवर्तनसम्मको हैसियत राख्छन्। एन्फा अध्यक्ष हुँदाहुँदै उनी नेपाली टोली वा नेपालको लिग म्याचका क्रममा टिमको नजिक देखिनु नौलो होइन। नेपाली खेल पत्रकारहरूले पनि सही होस् वा गलत, यो पचाइसकेका छन्। तर, अनुसन्धान भएपछि यसलाई नर्मल मान्न सम्भवतः नसकिएला। खासगरी उनको छोरा गौरव थापाको नाम पनि यो प्रकरणमा मुछिन आएपछि।
 
पछिल्ला वर्षमा पनि म्याच फिक्सिङको चर्चा हुँदा जुन अनुसन्धान हुन्थ्यो त्यो कहिल्यै पूर्ण भएको देखिएको छैन। एन्फाको अनुसन्धान समितिमा आरोपित खेलाडी भएको टिमको समेत उपस्थिति हुने हुँदा अनुसन्धान के का लागि गरिन्थ्यो अनुमान लगाउन सकिन्छ।
 
खेल–मिलेमतोमा सबैभन्दा सक्रिय देखिएका अञ्जन केसीले एन्फाकै अधिकारीले समेत खेल–मिलेमतो गर्ने गरेको दाबी गरिसकेका छन्। कतारमा भएको मैत्रीपूर्ण म्याचमा ४० हजार डलर आएको र मलेसियामा भएको खेलमा एन्फाका केही पदाधिकारीले ५० हजार अमेरिकी डलर लिएको उनले आफ्नो बयानमा सकारिसकेका छन्।
 
स्पष्ट के छ भने, यी पाँच न त पहिला म्याच फिक्सिङ गर्ने खेलाडी हुन न त अन्तिम नै।
 
यो प्रकरण काठमाडौंमा सुरु नभएकाले यसमा को को मुछिन्छन् हेर्न बाँकी छ। अलिक ध्यान दिने हो भने यो नेपाली फुटबललाई सफा गर्ने अवसर पनि हुन सक्छ।
Subscribe to:
Post Comments (Atom)

 
No comments:
Post a Comment