खोज तथा अध्ययन नहुँदा मध्य र सुदूरपश्चिममा रहेका वैकल्पिक ऊर्जाका स्रोत नासिँदै गएका छन् । ग्यास र पेट्रोलियम आपूर्ति हुन नसकी दिनानुदिन समस्या थपिँदै गइरहेका बेला सरकारले खानीको खोज तथा अन्वेषणमा जोड दिनुपर्ने भूगोलविद् बताउँछन्।
कैलालीको चिसापानी (कर्णाली नदीको तीरैतीर) र दक्षिणी समथर भूमि, चुरे क्षेत्र, डोटीको तेले तेक, डौड असज्वाला क्षेत्र, डडेल्धुराको भित्री मधेस क्षेत्र (जोगबुढा), दैलेखको पञ्चकोसी ज्वाला क्षेत्र, पादुका, शिरस्थान, नाभिस्थान, धुलेस्वर, दाङको भित्री मधेस क्षेत्र ग्यास र पेट्रोलियम पदार्थको सम्भावना भएका क्षेत्र हुन् ।
पेट्रोलियम पदार्थको खानी पहिचान गरी उत्खनन गर्न सरकाले पहल गर्नुपर्ने कैलाली बहुमुखी क्याम्पसका भूगोल विषयका प्राध्यापक श्यामराज जोशी बताउँछन् । उनले भने, ‘गहन रूपमा खोज तथा अन्वेषण हुनु जरुरी छ, राष्ट्र खनिजजन्य पदार्थमा आत्मनिर्भर भए कसैले हेप्न सक्दैन ।’
दैलेखमा सदियौंदेखि ग्यास र पेट्रोल खेर गइरहेको छ तर देशभित्र खेर गइरहेको खानी उत्खननमा कुनै चासो दिइएको छैन । देश परनिर्भर हुँदा यहाँका खानी अलपत्र परेको स्थानीय बताउँछन् । दैलेखको पञ्चकोसी ज्वाला क्षेत्रमा रहेको ग्यास र पेट्रोल बलेर–बगेर खेर गइरहेको छ । ग्यासबाट बलिरहेको ज्वालालाई धार्मिक महŒवसाथ पूजाआराधना गरिन्छ । नजिकैका खोलाछेउबाट पेट्रोल बगिरहेको गन्धसमेत आउने गरेको स्थानीय बताउँछन् । ‘दैलेखको पञ्चकोसीमा ग्यास र पेट्रोलियम पदार्थले बलिरहेको ज्वालाकै पूजाआराधना गरिन्छ,’ उद्योग वाणिज्य संघ दैलेख महासचिव नरेन्द्र थापाले भने, ‘अनुसन्धान र उत्खनन गर्न सके देश पेट्रोलियम पदार्थमा आत्मनिर्भर बन्न सक्छ ।’
पञ्चकोसी क्षेत्रमा पेट्रोलियम सम्भाव्यता अध्ययनका लागि २०६८ सालमा विज्ञसहित संसदको अर्थ र श्रमसम्बन्ध समितिको टोली पुगेको थियो । टोली ग्यासको नमुना संकलन गरी फर्किएको थियो । खानी तथा भूगर्भ विभागका अनुसार क्यानेडियन र चाइनिज कम्पनीको अनुसन्धानबाट यहा” ग्यास रहेको पुष्टि भएको हो । पादुका, शिरस्थान, नाभिस्थान, धुलेस्वरमा ग्यास र पेट्रोलको गन्धका साथै बाहिरी लेप स्पष्टै देख्न सकिन्छ ।
यहाँका मन्दिरआसपास र खोलामा तैरिरहेको पेट्रोल र पानीमा हावाको फोकाका रूपमा ग्यास निस्किरहेको देखिने गमौडीका रुद्र शाहीले बताए । उनले भने, ‘खोलाको पानीमा निस्कने हावाको फोकालाई सालको पातले ढाकेर सलाई कोर्दा आगो बल्छ, यसबाट पनि यहाँको पानी तथा माटोमा पेट्रोलियम पदार्थको सम्भावना रहेको प्रस्टिन्छ ।’ यहाँ खोला, भिर तथा बारीका भित्ताबाट ग्यास चुहावट भई खेर गइरहेको उनी बताउँछन् ।
तेलकै खानी भएकाले डोटीको तेले लेकक्षेत्रको नामकरण भएको मुडभराका स्थानीय तथा जैविक विविधतामा काम गर्दै आइरहेको सिडिसी अध्यक्ष हेमराज जोशीको भनाइ छ । ‘यहाँको हिलोमा मट्टीतेलको गन्ध आउनुका साथै पानीमा समेत तेल तैरिरहेको देख्न सकिन्छ, यस क्षेत्रमा प्रशस्त मात्रामा तेल खानी छ,’ उनले भने । लामीताललगायतका २२ वटा तालको पानीमा पेट्रोलियम पदार्थको गन्ध आउने गरेको जोशीले जानकारी दिए । उनले भने, ‘अहिलेसम्म खोजी तथा अन्वेषण हुन नसक्दा पेट्रोलियम पदार्थ त्यसै खेर गइरहेको छ ।’
भूगर्भविद्का भनाइमा पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खनन कार्य महँगो भएकाले सरकारले त्यसतर्फ ध्यान नदिएको हो । ग्राभिटी सर्भे र भौगर्भिक अध्ययनपछि त्यसका आधारमा विस्तृत साइस्मिक अध्ययन र अन्त्यमा ड्रिलिङसम्मको कार्य सकिन्छ । विज्ञका अनुसार ग्राभिटी सर्भेदेखि ड्रिलिङसम्मका लागि कम्तीमा १ अर्ब २० करोड रुपैयाँ लागत आवश्यक पर्छ । छरपस्ट रहेको ग्यासलाई एक ठाउँ ल्याई पाइपलाइनबाट वितरण गर्न कम्तीमा दुई करोड खर्च हुन्छ ।
पेट्रोलियम पदार्थ उत्खनन गर्न सके खेर गइरहेको ऊर्जा सदुपयोग हुने नेपाल उद्योग वाणिज्य महासंघ सेती अञ्चल संयोजक गोपाल हमाल बताउँछन् । उनले भने, ‘यहाँ पेट्रोल खानी ठाउँठाउँमा रहे पनि सरकारले ध्यान दिएको छैन, पेट्रोलियम पदार्थ उत्खननमा ठोस नीति बनाउन आवश्यक छ ।’
२०४६÷२०४७ सालतिर जर्मन कम्पनीले खानी पत्ता लगाउन तराई बेल्टमा सर्भे गरेको बताउँदै भूगोलविद् प्राध्यापक शिवराज जोशीले भने, ‘त्यस बेलाको तथ्य बाहिर आउन नसके पनि कैलाली, कञ्चनपुरसाथै तराई बेल्टका धेरै स्थानमा पेट्रोलियम खानी रहेको पत्ता लागेको थियो ।’ सरकारले प्राविधिक ल्याएर अझै पनि खानी पत्ता लगाउनुपर्ने उनले बताए ।
भारतको आसाम बेल्टमा अत्यधिक पेट्रोलियम खानी रहेको बताउँदै डोटी बहुमुखी क्याम्पसका भूगोल विषयका प्राध्यापक दिलानन्द जोशीले भने, ‘त्यही रेन्जमा नेपालको झापा, मोरङसाथै चुरेसँग जोडिएका तराईका बस्तीमा पेट्रोल खानी छन् ।’ खनिज पदार्थमा सरकारले अहिलेसम्म चासो नदिएकै कारण परनिर्भरतामा बाँच्नुपरेको बताउँदै भूगोलविद् गोविन्द थापाले भने, ‘सरकारले अब चाँडोभन्दा चाँडो अध्ययन–अनुसन्धान थाल्नुपर्छ ।’
यो खबर नागरिक दैनिकको हो |
No comments:
Post a Comment